चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई थप सेवा उपलब्ध गराउने उद्देश्यले आजबाट चन्द्रागिरि मार्ट परिसरमा पोलिक्लिनिक सेवा र समुदायको मागलाई ध्यानमा राखी थप एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

संस्थाले लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिसँग सहकार्य गरी थप एम्बुलेन्स सेवा र मेड स्टार पोलिक्लिनिक प्रालिसँगको सहकार्यमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । 

करिब ८ वर्ष अगाडि देखि चन्द्रागिरि साकोसले एक एम्बुलेन्स र एक शव वाहन सञ्चालन गरी सदस्यहरुलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएकोमा हाल सदस्यको संख्या बृद्धि हुँदै जानुको साथै गैर नाफामुलक सेवा भएको कारण निजी क्षेत्रले प्राथमिकतामा नदिने र सरकारी क्षेत्रले प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्ने अवस्था भएकोले समुदायको बढ्दो मागलाई ध्यानमा राखी माघ १ गतेबाट जम्मा २ वटा एम्बुलेन्स र १ वटा शव बाहन सेवा सञ्चालन शुरु गरेको जनाएको छ । 

त्यसैगरी सदस्य तथा समुदायलाई सहुलियतपूर्ण आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाद्वारा सञ्चालित चन्द्रागिरि मार्ट परिसर भित्र पोलिक्लिनिक सेवा सञ्चालन गरिएको संस्थाले जनाएको छ । 

उक्त पोलिक्लिनिकमा आकस्मिक सेवा, ओपिडि विशेषज्ञ सेवा, प्याथोलोजी सेवा, भिडियो एक्सरे, एक्सरे र फार्मेसी सेवा सञ्चालन हुनेछ । चन्द्रागिरि साकोसका सदस्यहरुले उक्त पोलिक्लिनिकमा विशेष सहुलियत प्राप्त गर्नेछन् । 

Comments